काठमाडौँ, २८ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।
काठमाडौँको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हराएको हो ।
१ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २० ओभर एक बलमा ३ विकेट गुमाएर भेटाएको थियो । उसका अनिल कुमार शाहले ५४ बलमा ८८ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीका अंकित सुवेदीले सर्वाधिक ४० रन बनाए । मधेशका प्रदीप पासवानले ३ विकेट लिएका हुन् ।
आजै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई ६८ रनले हरायो । पुलिसले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ३ बलमा २ सय १४ रन बनाउँदा अलआउट भयो ।
बाग्मतीका आशुतोश घिरैयाले ९२ र इशान पाण्डेले ४४ रन बनाए । पुलिसका सागर ढकालले तीन तथा करण केसी, राशिद खान र दीपेन्द्रसिँह ऐरीले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि राशिद खानले सर्वाधिक १ सय ६ रन बनाए । बलिङतर्फ बाग्मतीका रिजन ढकाल र सूर्य तामाङले ३-३ विकेट लिएका थिए ।
आजै भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो । गण्डकीले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका लागि म्रिनल गुरुङले ४७ रन बनाएका हुन् । बलिङतर्फ गण्डकीका कमल परियार र विपिन खत्रीले ३-३ विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाए । लुम्बिनीका अजय चौहानले ५ र एमडी हुसैनले दुई विकेट लिएका हुन् ।