काठमाडौँ, १२ पुस । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सबै चारै टोलीको टुङ्गो लागेको छ ।
बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै प्लेअफ खेल्ने सबै टोलीको टुङ्गो लागेको हो ।
एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।
यी चार टोली प्लेअफमा पुगेका छन् । बाँकी कुनै पनि टोली अव ८ अंकमा पुग्न सक्दैनन् । लुम्बिनी ६ खेलमा २ मा जित र ४ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ ।
मधेश ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । गण्डकी प्रदेश ५ खेलमा ४ मा हार र १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । कर्णाली ६ खेलमा सबैमा हार व्यहोरेको छ । लुम्बिनी, मधेश, गण्डकी र कर्णाली बाँकी सबै खेल जितेको खण्डमा पनि ८ अंकमा पुग्न सक्दैनन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् ।
क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनलमा पुग्ने अवसर पाउनेछ । तेस्रो र चौथो स्थानमा हुने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता हुनेछ ।