काठमाडौँ, १४ पुस । कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ ।
जितको लागि ७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।
कोशीको जितमा रुविनाले ३४ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिइन् । काजोल श्रेष्ठ १३ रनमा आउट भइन् । लुम्बिनीको कृतिका मरासिनीले दुई र मधु डिसीले एक विकेट लिइन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनाएको थियो । लुम्बिनीकी आश्मा पुलामी मगरले १६, कप्तान सरस्वती जिएम १७ र मनिषा रानाले १२ रन बनाइन् ।
कोशीको लागि रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिइन् । सबनम राई, अप्सरी बेगम र एलिसा खडियाले १-१ विकेट लिइन् ।
एपिएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । कोशी प्रदेश ७ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा रहेर अन्त्य गर्यो । पहिलो क्वालिफायरमा एपिएफ र कोशीबीच प्रतिस्पर्धा आइतबार हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ ।
सुदूरपश्चिम ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रह्यो । बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ । आइतबार सुदूरपश्चिम र बागमतीबीच एलिमिनेटर प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्न पाउनेछ ।