Logo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश एक विजयी



इटहरी, २९ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ ।

आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो ।

मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई-दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एकले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका काजल श्रेष्ठले २४ तथा रुविना क्षेत्रीले अविजित २१ र अप्सरी वेगमले ३ रन बनाइन् ।

जितसँगै प्रदेश एकले अङ्कतालिकामा २ अङ्क जोडेको छ । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्