Logo

प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच आज निर्वाचन–केन्द्रित छलफल



काठमाडौं, १२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र वातावरण निर्माणबारे छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र अवरोधमुक्त बनाउन दलहरूको भूमिका, आपसी सहकार्य र विश्वास बहालीका विषयमा केन्द्रित हुने बताइएको छ।

यसअघि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले देउवा, ओली र दाहालसँग अलग–अलग भेट गरी निर्वाचनलक्षित वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा प्रमुख दलका शीर्ष नेताहरू र प्रधानमन्त्री कार्कीबीच भएको अघिल्लो छलफललाई आजको बैठकले थप संस्थागत बनाउने अपेक्षा लिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्