पोखरा, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनभित्रै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको विषयलाई लिएर संघर्ष हुने बताएका छन् ।
गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा दिएका ओलीले भने, “अब शेरबहादुर र प्रचण्डको पर्नेवाला छ ।”
पोखरा सभागृहमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले शेरबहादुरले म प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड ‘रुनु न हाँस्नु’ भएको बताए । उनले भने, “शेरबहादुर देउवाले मै प्रधानमन्त्री हुने भनेपछि प्रचण्ड खङ्ग्रङ्ग भए, हाँस्नु न रुनु । म सँग भित्र तिमीलाई प्रधानमन्त्री बनाउँछु भने पनि शेरबहादुर देउवाले फेरि बाहिर त मै बन्छु भने ।”
ओलीले गठबन्धनलाई आफ्नो प्रधानमन्त्री को हो खुलाउन चुनौती दिएका छन् ।
“शेरबहादुर देउवाजीले भन्नुभयो, म प्रधानमन्त्री बन्न चाहान्छु,” ओलीले भने, “म गठबन्धनको निर्णय सुन्न चाहान्छु, जनता गठबन्धनको निर्णय सुन्न चाहान्छन्, को हो तपाईंको प्रधानमन्त्री?” चुनावलक्षित कार्यकर्ता सम्बोधनमा ओलीले गठबन्धन भित्रै कलह हुने र फेरि पनि एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरेका थिए ।







