काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।
बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए ।
सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित भए । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा थिए भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।







