काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पारेका छन् ।
सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए । पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।
उनले भने, ‘हरेक निर्णय गर्दा देउवाजीले सबैसँग सल्लाह गर्नुहुन्छ । सर्वदलीय बैठकमा मुख्य-मुख्य मान्छेहरू गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णय ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारी सबैले आ-आफ्नो भूमिका पाइरहेका छन् ।’







