काठमाडौँ, ३० चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ ।
त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिटै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्य अविधमा दुई देशबीचको सम्बन्ध थप घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो ।
सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । साथै गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताउनुभयो । त्यस क्रममा नेपालगञ्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टिग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको थियो ।
गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’ बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताउनुभयो ।
भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता नेपाली सुरक्षाकर्मीको तालिम तथा क्षमता विकासका कार्यक्रमलाई भारतले सधैँ प्राथमिकता दिएको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







