काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।
सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ८९ मत खसेको छ । विश्वासको मत दिन्न भन्नेमा एक मत परेको छ ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १२ गते अपराह्न १ बजे बस्नेछ ।







