काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन् ।
शनिबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका चार मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।
कांग्रेसको भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन ।
कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवाले मन्त्रीको नाम पठाउन ढिलाई गर्दै आइरहेका छन् । कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।