काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आज बिहान भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली लगायत संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुको सहभागी थिए ।
उनले चीन भ्रमणका एजेन्डा बारे छलफल गरेको र सुझाब मागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । असोज ४ गते उनले महासभालाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहाल त्यहीबाटै चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।







