Logo

प्रधानमन्त्री प्रचण्ड आज तीनदिने इटाली भ्रमणमा जाँदै



काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणको तयारी पूरा भएको छ । लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ ।

‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन् । मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ । बाँकी तयारी शुक्रबार अबेरसम्म चलेको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि साथै जानेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेन्डा बोकेको छुट्टै सत्रमा र मङ्गलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । जसका लागि नेपालले निर्वाह गर्नुपर्ने भूमिकासहितका अवधारणापत्रको तयारी पनि मन्त्रालयले गरेको छ ।

सम्मेलनको साइडलाइन कार्यक्रम अनुसार प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसङ्घीय प्रणालीका विशिष्ट पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । रोमस्थित गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहनुभएका नेपाली समुदायसँग छलफल गर्नेछन् ।

नौ वर्षपछिको भ्रमण
सन् २०१४ पछि दुई देशबिच हुन लागेको यो पहिलो भ्रमण हो । सन् २०१४ मा इटालीका तत्कालीन विदेशमन्त्री बेनेडेट्टो डेल्ला भेडोभा नेपाल भ्रमणमा आएका थिए । त्यसयता कुनै पनि उच्चस्तरीय भ्रमण इटाली र नेपालबाट नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । सन् १९५९ मा इटालीसँग नेपालले औपचारिक कूटनीतिक सम्बन्ध गाँसेको हो ।

विसं २००७ को प्रजातन्त्रपछि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष विकास सहयोग गर्दै आएको छ । इटाली सरकार र जनताका तर्फबाट २०७२ सालको भूकम्पका पीडितलाई राष्ट्रसङ्घका विभिन्न निकायसँगको सहकार्यमा इटालियन कोअपरेसन एजेन्सीमार्फत सहयोग उपलब्ध गारइएको थियो । सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माण प्रयासमा योगदान पु(याउन इटालीले सघाउ पु(याएको छ।

द्विपक्षीय व्यापारको सम्भावनालाई ध्यानमा राख्दै त्यसलाई बढाउने दिशामा दुई सरकार अघि बढेको छ । हालसम्म मध्यमस्तरमा रहेको दुई देशबिचको व्यापारिक सम्बन्धमा नेपालले कफी, चिया, मसला, छालाका सामान, काठका सामान, कागज तथा कागजका सामान, तरकारी, कपडा फाइबरलगायतका वस्तु इटाली निर्यात गरिरहेको छ ।

त्यस्तै इटालीबाट मासु, पशुजन्य उत्पादन, तरकारी, पिठोलगायतका वस्तु आयात गर्दै आएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सन् २०१५ देखि २०१९ सम्मको व्यापारको विश्लेषण गर्ने हो भने आयातको तुलनामा निर्यातको अवस्था झन्डै तीन गुणाले कम छ । यसले दुई देशबिच देखिएको व्यापार असन्तुलनका विषयमा पनि भ्रमणमा छलफल हुन जरुरी रहेको कूटनीतिज्ञहरू बताउँछन्

सन् २०२० मा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्य अनुसार ६३७ करोड रुपियाँ बराबरको इटालियन लगानी रहेको विभिन्न ३९ वटा परियोजना नेपालमा छन् । जसले एक हजार ६१ जनालाई रोजगारी दिएको छ । पर्यटनतर्फ इटालीबाट आउने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि यो भ्रमणमा सरकारले छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।

सन् २०१५ मा पाँच हजार ६०९ जना इटालियन पर्यटक नेपाल घुम्न आएका थिए । त्यसपछिको पर्यटक बढोत्तरीमा खासै चढाव देखिएको छैन । सन् २०१९ को पर्यटकको बढोत्तरी हेर्दा इटालीबाट १५ हजार ६७६ जना पर्यटक एक वर्षमा आएको देखिन्छ । जनसम्बन्ध स्तर कायम गर्न सक्ने सम्भावनाका रूपमा रहेको वैदेशिक रोजगारी, विद्यार्थी अध्ययन, पर्यटन, अध्ययन अनुसन्धान, कृषिजन्य उत्पादनको निर्यातमा वृद्धि, परियोजनामा सहकार्यलगायतका क्षेत्रमा दुई देशले ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्