Logo

प्रधानमन्त्री प्रचण्ड आज सर्लाही जाँदै



काठमाडौँ, १२फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाही जाने भएका छन् । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही जाने भएका हुन् ।

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११ः३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरणपछि कार्यक्रम स्थलमा पुग्नेछन् । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरूको विकासका लागि समाजको मौलिकता, संस्कार, संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।

महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्