काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ ६ बजे कतार एयरवेजबाट न्युयोर्क प्रस्थान गर्ने भएका छन्
आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण ः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना हुने स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।
अमेरिकामा रहँदा उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नेछन् । त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी रहनेछन् । परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेका छन् ।







