काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनी जाने भएका छन् । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आँबुखैरेनी जाने भएका हुन् ।
प्रधानमन्त्रीले तनहुँको आवुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटन पछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका कार्यक्रम रहेको छ ।
आँबुखैरेनी गाउँपालिका साबिकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा उपस्थितिको गाउँपालिकाले सबै राजनीतिक दल, सङ्घ संस्था, विद्यालय, आमा समूह, टोल विकास संस्था, युवा क्लब तथा सम्पूर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।







