न्यूयोर्क, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका दाहाल र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेका थिए ।
यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको बताएका छन् ।
प्रधानमन्त्री दाहाल आइतबार न्यूयोर्क पुगेका छन् । दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ ।







