काठमाडौँ, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् ।
बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताए ।
उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको जिकिर गरेका थिए ।
महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए । उनले यसअघिको चुनावमा धेरै स्थानमा उत्साह देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको उत्साह कम हुँदै गइरहेको बताए ।







