कैलाली, २८ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुर्याएको बताएका छन् ।
कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेष गरी विपन्न वर्गका नागरिकहरूको आर्थिक अवस्था सुधारमा टेवा पर्याएको बताएका हुन् ।
स्थानीय स्तरमा आवश्यकताको पहिचान गरी त्यही अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तिको अनिवार्य सहभागितामा जोड दिदैं उनले दक्ष युवा जनशक्ति उत्पादन र उनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरूको गम्भीर ध्यान जानुपर्ने बताए ।







