Logo

प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँः अध्यक्ष दाहाल



काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले खुशी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५/१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताउनु भयो । उहाँले उक्त निर्णय हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको जिकिर गर्नुभयो ।

उहाँले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र विदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताउनु भयो । उहाँले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सिमित हुने बताउनु भयो ।
उहाँले आफू प्रधानमन्त्रीमा रहँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादी नेताहरुको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले सबैले माओवादीलाई एकीकृत र केन्द्रिकृत गरेसँगै शक्तिशाली भइने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्