काठमाडौँ, २० असोज । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् ।
बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो ।
आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस-इण्डीया) बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।
नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्वन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ ।






