Logo

प्रधामन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै



काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण आजदेखि हुँदै छ । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफल अघि बढाउने विषयमा कुरा भएको बताइन् । उनले भनिन्, “प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आएपछि बजेटमाथि छलफल गर्ने भन्ने सन्दर्भमा कुरा भएको हो।”

यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग छलफल हुने जानकारी दिए । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले भ्रमणका व्रmममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने बताए । उनले कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने प्रस्ट पारे । हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने सम्भावना प्रवल रहेको मन्त्री साउदले प्रस्ट्याए ।

भ्रमणको सबै तयारी पूरा भएको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । केही प्रक्रियागत विषयमा गृहकार्य जारी रहे पनि त्यो विषय जाने बेलासम्म सकिने उनले बताइन् । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १स्२५ बजे प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारत प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने भएका छन् ।

सम्भावित विकास साझेदारीका सम्झौता र प्रस्तावित विषयमा कुरा गर्न सरकारी उच्चाधिकारीको टोली प्रधानमन्त्रीसँग रहने छ । त्यसबाहेक नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै भारत जाने तयारीमा रहेको छ । उद्योगी व्यवसायीसँगै एक दजर्नभन्दा बढी सम्पादकरपत्रकारको समूह पनि भारत जाने तयारी छ ।

भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । यीलगायतका विषयमा दिल्लीस्थित नेपाली दूतावासले अन्तिम तयारी गरिरहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही अवसरमा दुई देशबिच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने भएका छन् ।

त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् । त्यस्तै भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्नुहुने कार्यतालिका छ । स्वदेश फर्कने दिन उनले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्नेछन् । जेठ २० गते साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनेृ कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भ्रमण हो । यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो औपचारिक भारत भ्रमण गरेका थिए । दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका थिए । औपचारिक भ्रमणको एक महिना नबित्दै सोही वर्ष भारतमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत गएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्