Logo

प्रभु, एमालेलाई एमालेबाटै जोगाइदेऊ



प्रदेशको अस्थायी राजधानी विराटनगर तय भएको छ । सबै प्रादेशिक निकाय त्यतै छन् । तर, राजधानीजस्तो रौनकचाहिँ इटहरी–तरहरामा छ ।
एक नम्बर प्रदेशको दलीय गणितमा अग्रता पाएको एमाले आन्तरिक गणितमा बिग्रेको छ । गुटहरू भताभुंग छन् । कति गुठियार नै बिकेका छन् त कतिपय बिक्नका लागि लामबद्ध छन् । नैतिकता मान्नेहरू रुष्ट छन् । यस्तो कि, १ नम्बर प्रदेशमा एमाले बलियो छ । तर, चुनावी नतिजामा सबभन्दा बढी जितेका माधव नेपाल पक्षधरहरू अस्तित्व रक्षाको संघर्षमा छन् ।
काठमाडौंमा रैथाने बनिसकेका थुप्रै एमाले अहिले इटहरी–तरहरातिर जोडदार रूपमा प्रकट भएका छन् । मानौँ, अब प्रदेश ती पुनः आगन्तुकबिना चल्दैन । १४ जिल्लाका माननीयमध्ये सुनसरी–मोरङका मात्र यहीँ घर भएका छन् । बाँकी सब ‘काठमाडौं सेट्ल्ड’ मान्यको ताँती छ । संसदीय दलको चुनावमा देखिएको एमाले, हलगाडा, तरहरा र स्यार्सेकालीका सेकुवासँगै चपाइएका केही मीठा–मसिना कुरा यस्ता छन् कि, सुन्दै अचम्मका । हरेक साँझ मदिराले पखालिन थालेको छ, इटहरी ।
संसदीय दलको नेता चयनका क्रममा एउटा अनुहार निकै सक्रिय देखियो । झोलाभरि पैसा बोकेर एमाले सांसद भेट्दै, गोप्य गर्दै ती व्यक्ति शेरधनको पक्षमा माहोल बनाइरहेका थिए । उनको नाम अम्बिरबाबु गुरुङ, रुम्जाटारका बासिन्दा र ओखलढुंगाका प्रदेश सभासद् हुन् । एमाले सभासद्हरूकै अनुसार युरोप–अमेरिकातिर मानिस पठाउने काम गरेर धेरै पैसा कमाएका छन् । ईश्वर पोखरेलका भित्रिया हुन् । अम्बिरको पैसाले कतिपय गाई एमाले त्रिशुल बने, कतिपय त्रिशुलहरू छिनभरमै गाई पनि बने । कोही कोही त यसरी लठ्ठिए कि, पशुपतिका नागाबाबा के लठ्ठिन्टछन् †
भीम आचार्यको रिसले भन्दा बढी अम्बिरको पैसाले जीवन घिमिरेलाई शेरधनको प्रचारक बनायो । इटहरीमा चलेको हल्लाअनुसार उनको हातमा ५० पेटी परेको छ । ३०–४० वटा पेटीले राजकुमार ओझा, कला घलेहरू घाइते हुँदा शेरधन बलियो बने । ‘सिकार’ र ‘कान्छा बाउको अनुहार’ रोज्न राजन राई परेको मुस्किल त बदरकाण्डले नै बताउँछ । भीमलाई भोट हालेजस्तो, अनि उनकै भोट बदर गराएजस्तो पनि । इलाममा राम राना र खिनु त्यस्तै भइहाले । झापा र मोरङमा माधव गुटका थप एक–एक मान्य मौकामा विचलित भए । माधव गुटका सबभन्दा इमानदारचाहिँ राजेन्द्र राई र उषाकला राई निस्किए । यी दुईले निर्देशनभन्दा अलिकति पनि ‘टसमस’ गरेनन् ।
भीम आचार्यले प्रदेश संसदीय दलको नेता हार्दा सुनसरी नै हारेको छ । तर, उनको हारमा खुशी छन्, सर्वध्वज साँवा, निलम बस्नेतहरू । सबभन्दा खुशी त रेवती भण्डारी छन् । जगदीस कुसियैतको त कुरै भएन, उनी शेरधनका प्रस्ताव नै थिए । यसरी भीमले आफ्नै जिल्लालाई इन्ट्याक्ट नराख्दा परिणाम उनको प्रतिकूल भएको विश्लेषण गर्दै छन्, यहाँका एमालेहरू ।
कांग्रेस नै कडा
सुनसरी एमाले वृद्धहरूको पकडमा भए पनि कांग्रेसको अवस्था फरक छ । कांग्रेस नेतृत्व सम्हालेका राजीव कोइरालाको पुस्ताका एमालेहरू अझै वडा कमिटी, नगर कमिटी, धेरैमा जिल्ला कमिटी सदस्यसम्म छन् । भीम आचार्य, ओम कोइराला, धर्म निरौला, रेवती भण्डारी, सर्वध्वज साबा, प्रदीप भण्डारी, खेमराज पोखरेल, जगदीश कुसियतभन्दा मुनिको पुस्तामा एमाले नेतृत्व पुग्न सकेन । योग्यता नपुग्दै केन्द्रीय सदस्य भएकी भगवती चौधरी र तैयव हुसेन ‘भुइँमा न भाँडामा’ भएका छन् । जिल्लामा न उनीहरूले भनेको मान्ने कोही छ, न उनीहरू कसैलाई केही भनिहिँड्नै तयार छन् । तर, कांग्रेसले नेतृत्व व्यवस्थापन सही तरिकाले गरेको छ । रामबहादुर बस्नेत, चन्द्रप्रसाद श्रेष्ठहरू ‘फेजआउट’ भए । राजीव, केदार भण्डारी, हेमकर्ण पौडेलदेखि राजन मेहताहरूको उदय हुनु नै उसको सफलताको आधार बनेको छ । कांग्रेसको संगठन त त्यस्तै हो, एमालेभित्रको रडाको नै कांग्रेसका लागि फाइदाको विषय बनेको छ । उदाहरणका लागि, विजय गच्छदारले थोरै मतले चुनाव जिते । भनिएको जे भए पनि खास कुरा हो, भगवती हारेको हेर्न रुचाउने एमालेहरू जिल्लामा धेरै छन् । छिटाहा, भलुवा, तनमुनातिरका एमालेकै सहयोगमा गच्छदार जित्ने अवस्थामा पुगेको सत्य नै एमालेका लागि घातक छ । रेवती भण्डारी सिध्याउनका लागि माओवादीलाई क्षेत्र छोड्न तयार हुँदा सीताराम मेहताले बाजी मारेको तथ्य जगजाहेर छ ।
यसका बाबजुद पनि सुनसरीमा एमालेलाई कांग्रेसबाट अलिकति पनि खतरा छैन । एमालेलाई एमालेबाटै जोगाउन सक्यो भने त्योभन्दा फलदायी कुरा अरू हुँदैन । भएकै एमालेभित्र यस्तो हालत छ भने वाम गठबन्धन गरेपछि के होला ? माओवादीका उति धेरै नेता सुनसरीमा छैनन् । तर, भएजतिका नेता पनि कमका छैनन् । त्यसमा पनि हिजोका एमालेहरू नै आज माओवादी भएर फेरि एउटै पार्टी बन्ने तरखर छ ।
अबको इटहरी
रेवती भण्डारीले भीम आचार्यसित प्रतिशोध साँधे, त्यो उनीहरूको निजी मामिला भयो । सर्वध्वज, निलमहरूले भीमलाई हराए, यो पनि निजी कुरा हो । राम्रो गरे कि नराम्रो गरे, त्यो जान्ने एमालेहरूले नै हो । तर, इटहरीको सरोकार भीमले जिते कि हारे भन्ने पटक्कै होइन । यति बलवान नेताहरू, जसले आफ्नो जिल्लाको एउटा केन्द्रीय नेतालाई जमिनमा ल्याइदिएका छन्, यी बलवानहरूको भएजति सबै तागत लगाएर इटहरीलाई प्रदेश राजधानी बनाउनुपथ्र्यो । तर, सकेनन् । बनाउने सुरसारमा पनि देखिएनन् । इटहरीका जनताले सर्वध्वजलाई भोट हालेको उनलाई मन्त्री बनाउन वा कुनै निश्चित राजनीतिक भूमिका दिलाउन होइन । एक मात्र कारण हो, उनले प्रदेश राजधानी इटहरी ल्याउलान् भन्ने । खुट्टी हेर्दै चाल पाइयो भनेजस्तो इटहरीका एमालेहरू नै इटहरीमा प्रदेश राजधानी ल्याउन उति हिम्मतिला देखिएनन् । सुनिँदै छ कि, गोठगाउँलाई प्रदेश राजधानी बनाइँदै छ । यसमा शेरधनदेखि जगदीससम्म मिलिसकेका छन् । सर्वध्वजहरूले मुख खोल्न नसकेका मात्र हुन् । फेरि यो कुरा तरहराको सेकुवा चपाएर गरिएको होइन, भएकै कुरा हो । यदि, इटहरी प्रदेशको राजधानी भएन भने पनि इटहरीको रौनक, यहाँको चल्तीफिर्तीमा फरक त पर्दैन नै । तर, एउटा कुरा निश्चित छ, सर्वध्वजको राजनीति आजको जस्तो भर्भराउँदो रहिरहँदैन । मान्नै पर्छ कि, उनी आधुनिक इटहरी निर्माणका पिता नै हुन् । बुझ्नु के पर्छ भने, पृथ्वीनारायणले नेपाल एकीकरण गराए भनेर उनका सन्तान ज्ञानेन्द्रलाई जनताले बाँकी राखेनन् । त्यसैले हिजोको इतिहास टिक्छ कि टिक्दैन भन्ने कुरा आज उनले इटहरीलाई राजधानी बनाउँछन् कि बनाउँदैनन् भन्ने कुरामा निर्भर छ ।
अन्तिममा भन्नुपर्छ कि, सुनसरीमा एमालेहरू जतिसुकै बाझाबाझ गरुन्, त्यो उनीहरूकै मामिला भयो । तर, यहाँका एमालेहरू बाझ्दा जनतालाई असर परेको छ । इटहरी नभए धरान, धरान नभए चक्रघट्टी, चक्रघट्टी नभए इनरुवा, इनरुवा पनि नभए झुम्काले प्रदेश राजधानी बन्ने मौका पाउँदै थियो, मौका बाँकी छ । तर, मूलशक्ति आफूमा सञ्चित गरेको वाम गठबन्धनका मुखियाहरू आ–आफैँ हानथाप गर्दै छन् । उनीहरूको हानथापको सिकार सुनसरीका जनता बनिरहेका छन् । त्यसैले एमालेहरूले बाझाबाझ गर्दागर्दै यत्तिचाहिँ सद्बुद्धि सिकुन् कि, जनताको काम गर्न सकिएन भने भोलि फलामको च्युरा चपाउनै पर्छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्