काठमाडौँ, २४ चैत । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिएका छन् ।
महान्यायाधिवक्ता नियुक्तिको एक सय दिन पुगेका अवसरमा पत्रकार सम्मेलन गरेका पोखरेलले आफ्नो निर्णय राजनीतिक सौदाबाजीमा नभएको दाबी गरेका हुन् ।
“रवि लामिछानेको राहदानी प्रकरणमा प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर, विवेकको प्रयोग गरेर गरिएको निर्णय हो,” महान्यायाधिवक्ता पोखरेलले भने, “यसलाई राजनीतिक सौदाबाजीमा भएको निर्णय हो भन्नु अन्याय हुन्छ ।”
उनले निर्णय कुन दिन भयो भन्ने कुरा संयोग मात्र भएको भन्दै त्यो आफ्नो चासोको विषय नभएको बताए ।
“हामीले विवेकपूर्ण रूपमा गरेको कामप्रति हामी कन्फिडेन्ट छौँ,” पोखरेलले भने, “राजनीतिक विषयसँग जोड्न जरुरी छैन ।”







