काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो निर्वाचनमामा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गरेका छन् ।
शुक्रवार राप्रपाले काठमाडौँमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आउँदो पालिका निर्वाचनमामा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताएका हुन् ।
प्रमुख पार्टीहरूले पटक-पटक मौका पाउँदा पनि नागरिकले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उनले भने, हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनै पनि पार्टी, कुनै पनि नेताले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झने गरी एउटा कुरा छोडेर जान सक्दैन । जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहन्नँ । तपाईँहरूलाई बुझाउनका लागि मात्रै ती पार्टीहरूको नाम लिन चाहन्छु ।
अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त? तिनका पार्टीका नेतालाई कति पटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बरबाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदा देखाएनन्, अब फेरि देखाउँछन् कि भन्ने भुल गर्नुहुँदैन ।