Logo

प्रवास नेपाली सम्पर्क समिति भर्जिनियाको सहयोगमा अर्जुनधारामा न्यानो कपडा वितरण



झापा, २२ पुष । प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकाको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका भित्रका अति विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

अर्जुनधाराका तीन सामुदायिक विद्यालयका कुल १६० जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो। चन्द्रोदय आधारभूत विद्यालयका ४२ जना, बालज्योती आधारभूत विद्यालयका ४७ जना र जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका ७१ जना अति विपन्न विद्यार्थीहरूले न्यानो कपडा प्राप्त गरेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले जाडोका कारण नियमित विद्यालय आउन नसक्ने अति विपन्न अभिभावकका बालबालिकालाई लक्षित गर्दै प्रवासमा रहेका सहयोगीहरूको समन्वयमा विद्यालयहरूको मागअनुसार न्यानो ट्र्याकसुट व्यवस्थापन गरिएको बताइन्। दैनिक ज्यालादारी गर्ने अभिभावकहरूका लागि दैनिकीमै कठिनाइ रहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

कार्यक्रममा चन्द्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक टंक आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्की, बालज्योती आधारभूत विद्यालयकी प्रधानाध्यापक पूजा भारती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुवरलगायतले बालबालिकाको मुहारमा मुस्कान ल्याउन र नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न सहयोग पुर्‍याएको भन्दै प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकालाई धन्यवाद व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कृष्ण सेर्मा र बिनम अधिकारीले गरेका थिए भने कार्यक्रम सहजीकरण जुनकीरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्