Logo

प्रशान्त तामाङ: स्वरभन्दा ठूलो उनका मौन प्रेमहरू



काठमाडौं, २७ पुष । प्रशान्त तामाङ अब हामी माझ छैनन्। तर उनका गीतहरू मात्र होइन, उनका मौन त्याग, प्रेम र संवेदनाले भरिएका कथाहरू सधैँ बाँकी रहनेछन्।

संसारले उनलाई ‘इन्डियन आइडल–३’ का विजेताका रूपमा चिन्यो। मञ्चमा उभिएर लाखौँ दर्शकलाई मन्त्रमुग्ध बनाउने स्वरका धनी कलाकार। तर नजिकबाट चिनेका लागि प्रशान्त एक असाधारण कलाकारभन्दा पहिले असाधारण छोरा, श्रीमान् र पिता थिए।

दिल्लीस्थित आफ्नै घरमा ४२ वर्षको उमेरमा उनको असामयिक निधन भयो। कार्डियक अरेष्ट—शब्द सानो छ, पीडा अपार।

उनी फुर्सद मिलाएरै दिल्लीमा बस्न रुचाउँथे। कारण थियो, तीन वर्षीया छोरी आरिया। छोरीको हेरचाह, खेल, हाँसो र नानी हातको न्यानोपन उनका दिनका सबैभन्दा ठूला उपलब्धि थिए। श्रीमती एयरहोस्टेस भएकी कारण घर र छोरीको जिम्मा
उनी आफैंले बोक्न रुचाए। स्टेजको चमकभन्दा उनलाई छोरीको मुस्कान प्यारो थियो।

कलाकार तथा निर्माता राजेश घतानी सम्झिन्छन् : “अनगिन्ती कार्यक्रमको अफर आए, तर उनले छोरीलाई कहिल्यै छाड्न चाहेनन्।  छोरीमा उनले आमाको प्रतिविम्ब देख्थे।”

आमासँगको त्यो सम्बन्ध :
उनको जीवनको सबैभन्दा गहिरो अध्याय थियो। कोरोना महामारीका बेला दिल्लीमै रोकिएका प्रशान्त दार्जीलिङमा आमाको अन्तिम घडीमा पुग्न सकेनन्। आमा बितिन्को रोनाले। परिवारका एकमात्र छोरा भएर पनि आमालाई अन्तिमपटक अँगालो हाल्न नपाउनु उनको जीवनकै सबैभन्दा ठूलो पीडा बन्यो।

साधारण परिवारबाट आएका प्रशान्त गायन क्षेत्रमा आउनुअघि कोलकाताको प्रहरी सेवामा थिए। वर्दीभित्र लुकेको थियो संगीतप्रतिको अथाह प्रेम। सादा पहिरन, सरल स्वभाव र आत्मासम्म पुग्ने स्वर, यिनै कारण उनले छिट्टै दर्शकको मन जिते।

२००७ मा इन्डियन आइडलको उपाधि
केवल उनको व्यक्तिगत जित थिएन। त्यो जित नेपालीभाषी समुदायको उत्सव थियो,नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सम्मान थियो।

२०११ मा मार्था एलीसँग विवाह, २०२२ मा छोरी आरियाको जन्म, जीवन शान्त दिशातर्फ अघि बढिरहेको थियो।
तर नियतिले उनलाई धेरै समय दिएन।

“परिवारप्रति गहिरो लगाव, करियरप्रति सचेतता, तर जीवन धेरै लामो रहेन,” घतानीका शब्द आज भारी भएर बज्छन्।

प्रशान्त तामाङ अब हामीसँग छैनन्। तर उनका गीतहरूमा, छोरीको हाँसोमा, आमाको सम्झनामा, र नेपाली पहिचानको गौरवमा उनी सधैँ जीवित रहनेछन्।

श्रद्धाञ्जली।

प्रतिक्रिया दिनुहोस्