कुवेत, २९ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।
प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’
उनले भोलिबाट पुन: काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।
दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाई स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।