नुवाकोट, २८ जेठ । मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
नुवाकोटको ककनी नगरपालिका-७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको विद्युत् प्राधिकरणका सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
‘ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भयो, हामीले आयोजनाको उत्पादन बन्द गर्यौँ, दिउँसोदेखि त उनी तारमै यताउता गरिरहेका छन्, उनी त्यहाँबाट नझरेसम्म आयोजना सञ्चालन हुँदैन’ भट्टराईले भने ।