Logo

प्रस्तावित आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै



काठमाडौं, १४ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज बस्दै छ ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहनुभएका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेगरी बोलाइएको जानकारी दिनुभएको छ ।

बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि उहाँको समितिमा बुधबार सुनुवाइ गरिएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिनुभएको थियो भने उहाँले उजुरी पनि दिनुभएको थियो । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताउनुभएको थियो ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्