Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीकर्तासँगको छलफल सकियो



काठमाडौँ, ३१ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेको छ ।

कार्कीविरुद्ध परेका २९ वटा उजुरीका उजुरीकर्ताहरूसँग एकल र संयुक्त रुपमा छलफल गरेको समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उजुरीकर्तासँग छलफल सकिएसँगै भोलि बिहान आठ बजे प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाउने निर्णय भएको सभापति कार्कीले बताए । गएको वैशाख २५ संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको थियो । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश छन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् । निलम्बनकै अवस्थामा जबराले गएको मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

यसैबीच आज उजुरीमाथिको छलफलमा बोलाइएका उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । आजको बैठकको सुरुमा ज्येष्ठ सदस्यका रुपमा सांसद पशुपति शम्शेर जबराले र जबरा समितिबाट बाहिरिएपछि सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सभापतित्व गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्