काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी आज (सोमबार) लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अतिथिका रूपमा सहभागी भएको देखिएका हुन् ।
उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) निर्वाचित एमाले सांसद हुन् । उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो । तर प्रधानमन्त्रीकै दलका सांसद पन्थी खुलेआम हिँडिरहेका छन् भने प्रहरीले पनि पक्राउ गर्न सकेको छैन ।
काठमाडौंको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाकसमेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पनि पत्र पठाएको थियो ।