Logo

प्रहरीको गोली लागेर ज्यान गएका युवकलाई शहीद घोषणाको माग गर्दै राजमार्ग अवरुद्ध



बारा, ३० मङ्सिर । प्रहरीको गोली लागेर ज्यान गुमाएका बाराका युवकलाई शहीद घोषणा तथा परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका बारा सिम्रौनगढका युवक लक्ष्मी मुखिया विनलाई शहीद घोषणा तथा परिवारलाई क्षतिपूर्तिको माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा आज पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति विजयशंकर यादवको नेतृत्वमा निजगढमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरोध गरी प्रदर्शन गरिएको हो । प्रदर्शनमा राजनितिक दल, मृतकका आफन्त र तलब नपाएर आन्दोलन गर्दै आएका सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुसमेत सहभागी भएका थिए ।

घटनाको निष्पक्ष छानबिन गरी गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही गर्नु पर्ने, मधेश प्रदेशका मुख्यमन्त्री र सिम्रौनगढ नगरपालिकाका मेयरले राजीनामा गर्नुपर्ने लगायतका माग राखी नेपाली कांग्रेसले राजमार्ग अवरुद्ध पारेको छ । शनिवार दिउँसो २ बजेदेखि साँझसम्म सडक अवरुद्ध गरिएको र माग सम्बोधन नभए अझ कडा आन्दोलन गरिने नेपाली कांग्रेसका क्षेत्रीय सभापति यादवले बताए ।

गएको बुधवार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराउने विषयमा विवाद भइ शिक्षक-कर्मचारी र प्रहरीबीच झडप भइ प्रहरीले चलाएको गोली लागि सिम्रौनगढ-१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया विनको ज्यान गएको थियो । मृतक विनको शव वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्