झापा, २ श्रावण । इलाका प्रहरी कार्यालय अनारमनीले बरामद गरेको लाखौँ मुल्यको लागूऔषधसहित प्रतिबन्धित औषधी र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा पत्रकार सम्मेलन गरेर करिब ३५ लाख मुल्यको लागूऔषध ट्रामाडोलसहित प्रतिबन्धित औषधि प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले बिहीबार करिब ११ बजे बिर्तामोड नगरपालिका ५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिइ भण्डारण गरिराखेको अवस्थामा ५ लाख ६० हजार १०४ रुपैया बराबरको १०३८०० क्याप्सुल ट्रामाडोल, ४३ हजार ९८२ रुपैया बराबरको १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ५७ हजार ३०७ रुपैया बराबरको ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, ७ लाख ४५ हजार २६३ रुपैया बराबरको टर्मिपिल किट ७६५० ट्याब्लेट, ३ लाख ९८ हजार ३७५ रुपैँया बराबरको जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ३ लाख ८८ हजार रुपैँया बराबरको ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त प्रतिबन्धित औषधि र लागूऔषधसहित प्रहरीले अर्जुनधारा–६ दासपुल बस्ने बर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको इप्रका अनारमनीका प्रमुख डीएसपी विजय श्रेष्ठले जानकारी दिए । प्रहरीले यामाहा कम्पनीको प्र। १–०१–०१३ प ८९०४ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले लागूऔषध ओसारपसार तथा सेवनमा झापा प्रहरी निर्मम भएर लागेका कारण यो सफलता हात परेको बताउनुभयो ।
लामो समयदेखि लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले रेकी गरेर मानिससहित ती सामाग्री बरामद गर्न सफल भएको इप्रका अनारमनीका प्रमुख श्रेष्ठले बताउनुभयो ।
सो गोदाम सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलले भाडामा लिएको र उनी फरार रहेको स्रोतले बताएको छ ।