काठमाडौँ, २३ पुस । चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सर्लाही मलङ्गवा नगरपालिका-६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौँ महानगरपालिका-२६ गौँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३-००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।






