काठमाडौँ, ८ चैत । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिएको विषयमा जवाफ माग गरेकी छन् ।
आजको राष्ट्रियसभा बैठकमा प्रहरीले युवाहरूको मुख थुनेको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएको बताउँदै युवाहरूले के भन्न खोज्दा मुख थुनिएको? भन्दै प्रश्न गरिन् ।
प्रहरीले बोल्नेहरूको मुख थुन्न पाउँछ की पाउँदैनन् भन्दै प्रश्नसमेत गरिन् । “ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन?,” पौड्यालको प्रश्न छ, “यसो गर्ने प्रहरीलाई गृहमन्त्रालयले कारबाही गरेको छ कि छैन? गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु । जवाफ पनि माग गर्दछु ।”
मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा युवाहरूले बैंकको ब्याज मिनाहा गर भन्दै नारा लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।







