Logo

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?



काठमाडौँ, २५ साउन । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए । उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए । आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए।

बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए। तर, पास गरेका थिएनन् । स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे । कागजात अजयकै नाममा थियो । एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो । स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए । तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे ।

अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट रु यस्तै गर्छन् र सवारीधनी आउनै खोज्दैनन् । जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ रु’

यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए । सडकमा मोटरसाइकल पार्क गरेर पाटीप्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए । सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्‍याएको थियो ।

पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे । घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे ।

प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन् । कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन् । तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन । ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन् ।

उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन्। जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन् ।

१०० जनाले भने प्रक्रिया पुर्‍याएर सवारी साधन फिर्ता लगेका छन् । वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्