Logo

प्रहरी समायाेजन प्रक्रिया सुरु नभए सरकारविरुद्ध आन्दाेलन गर्ने चेतावनी



जनकपुरधाम, २२ साउन । मधेस प्रदेश सरकारले आउँदो चुनावअघि नै प्रहरी समायोजन टुङ्ग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साह नेतृत्वको टोलीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माको समेत उपस्थिति रहेको थियो । साथै प्रत्येक दलबाट प्रदेश सभा सदस्यसमेत ज्ञापन पत्र बुझाउनका लागि पुगेका थिए ।

सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी ज्ञापन पत्रमा उल्लेख छ । सञ्चारमन्त्री साहले भने, ‘हामीले पटक-पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ, गृह तथा तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक हप्तासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्छौँ ।’

केही हप्ताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्