काठमाडौँ, १४ असोज । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । नदीनाला दोहन, तराईका जङ्गलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुङ्गा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद् बढिरहेको उनले बताए ।
उनले भने, ‘अहिले विश्वभरि क्लाइमेट इमर्जेन्सी छ । ग्लोबल वार्मिङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरूले यसबारेमा चेतावनी दिइरहेका छन् । तर कुनै पनि देशका नेतृत्वकर्ताले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरूले २२ औँ शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद् निम्तिरहेका छन् । हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जङ्गल समाप्त भएको छ । तर लिडरलाई मतलब छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुङ्गा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनका कारण खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढिरहेको छ ।’







