काठमाडौँ, ४ असोेज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको उद्देश्य बिजुली निर्यात गर्ने नभएको बताएका छन् ।
मङ्गलवार सुन्दर यातायात प्रालीले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले प्राधिकरणको मुख्य उद्देश्य भारतमा बिजुली निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरेका हुन् ।
घिसिङले बिजुलीको खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनदेखि गाडीसमेत विद्युतीय ल्याउनुपर्ने बताए । उनले नेपालमा नै बिजुली खपत गर्नसके देशको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्याउने बताए । बिजुली निर्यात गरेर भन्दा खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने उनले जिकिर गरेका छन् ।







