काठमाडौँ, २१ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ ।
उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
उनले हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्न पनि प्राधिकरणले पहल गरेको उल्लेख गरेको छ ।
उनले हवाई सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले गरेको छ बुँदे निर्णयलाई कडाइका साथ लागू गरिने दाबी गरेका छन् । क्यानले गरेको नयाँ व्यवस्थामा विमान चालक (पाइलट) को ड्युटी समय एक घण्टा कम गरिएको छ ।
त्यस्तै पाइलटले अहिले दैनिक उडान (टेकअफ) र अवतरण (ल्यासण्डङ) दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था रहेकामा अब त्यलाई पनि घटाएर आठ पटक मात्र बनाइएको छ । विशेषगरी छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदनि आठ घण्टाबाट घटाएर सात घण्टा कायम गरिएको छ ।
त्यसैगरी लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदिन नौ घन्टाबाट घटाएर आठ घन्टा कायम गरिएको छ ।






