Logo

प्राध्यापकको गल्तीले प्रश्नपत्र हुबहु: त्रिवि



काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।

“प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए”, उनले भने, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।”

उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी सङ्कायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्