काठमाडौँ, १२ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताए । उनले सबै राजनीतिक दल मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताएका छन् ।
महामन्त्री थापाले राजनीतिक दल एकअर्काको आरोप प्रत्यारोपमा लाग्दा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए । उनले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्ने बारेमा छलफल गर्नु जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘‘राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छौँ । हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ । यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ । गर्नुपर्छ, हुनुपर्छ भन्ने कुरामा एक ठाउँमा भइसकेपछि कसरी? भन्ने कुरामा छलफल गर्नुपर्छ । राजनीतिक पार्टी हुनुपर्छ ।’





