नबिना (निर्मला) कुईकेल । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस, माया गर्ने जोडीको लागि विशेष दिन । आजको दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेम भाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । १४ फेब्रवरी अर्थात आजको दिन गुलाफको फुल अफ्नो प्रेमिप्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरि युवा युवतीमा यसको बढी लगाव हुने गरेको छ ।
किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?
प्रेम गर्ने जोडीको लागी फेब्रवरी १४ निकै विशेष दिन हो । संसारभरी नै यस दिनलाई युगल जोडीले विशेष दिनको रुपमा मनाउने गर्छन् । तर, वास्तबमा यो दिवस किन मनाउन थालिएको हो त ? यस दिवस मनाउनुको ऐतिहासिक कारण र महत्व बारे अनबिज्ञ छन् प्रणय दिवस मनाउने जोडी ।
यो दिवसको सुरुवात प्राचिन रोमनबाट शुरु भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक शुरुवात इस्वी सम्वत २६९ रोमनबाट शुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर, सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम युवर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेलरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
‘भ्यालेन्टाइन डे’मा गुलाफको प्रयोग
रातो गुलाफको फुल प्रेमको प्रतिक मानिन्छ । प्रणय दिवसलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने दिन मानिने भएकाले आज गुलाफको प्रयोग बढि हुन्छ । आजको दिन आफ्नो प्रेमिलाई गुलाफको फुल दिएर प्रेमको भावना व्यक्त गर्छन् ।
गुलाफको फुलमा रहेको हरेक पानालाई मायाको प्रतिक मानिन्छ । गुलाफमा जसरी पानै पाना मिलेर एक सुन्दर फुल बनेको हुन्छ त्यसरी नै प्रेमिप्रेमिकाले एक अर्काको साथ पाएर जिन्दगी गुलाफ जस्तै सुन्दर होस् भन्ने धारण राखेर एक अर्कालाई रातो गुलाफको फुल दिने चलन छ । रातो गुलाफको फुल आफ्नो प्रेमिलाई दिँदै ‘विल यू बि माई भ्यालेन्टाइन’ भन्ने गर्छन् ।
रातो गुलाफ हेर्दै मन लोभ्याउने भएकोले गर्दा एक अर्कालाई दिएर माया साट्ने गर्छन् । जसरी बिना रातो रगत मानिस जिवित हुदैन त्यसैगरि रातो गुलाफ बिना मायाको सुरुवात हुदैन भन्ने मान्यता छ । गुलाफको फुल अफ्नो प्रेमिप्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।
प्रेमिप्रेमीकाले एक अर्कालाई प्रेमको प्रतिकको रुपमा रातो गुलाब दिएर प्रेम दर्शाउने गर्दछन् । तर, नेपालको उत्पादनले बजारको माग धान्न नसकी छिमेकी मुलुक भारतबाट धेरै मात्रामा गुलाव आयात हुने गरेको तथ्यांकले देखाएको छ । भ्यालेन्टाइन डेका लागि नेपालमा करिव २ लाख थान गुलाब आयात भएको छ । १ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको गुलाब भित्रिएको पुष्प व्यवसायी संघले जनाएको छ ।
चालू आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्ने हो भने करिव १८ लाख रुपैयाँ बराबरको गुलाब नेपालले आयात गरेको थियो, भने यो एक हप्तामा मात्र १ करोड ६० लाख रुपैयाँ बराबरको गुलाब आयात भएको छ । जून अघिल्लो वर्षको यहि अवधिको तुलनामा ८ प्रतिशतले बढि हो । त्यस्तो त अघिल्लो आवको यस अवधिमा करिव १ करोड ५० लाख रुपैयाँ बराबरको गुलाब भित्रिएको तथ्यांकले देखाएको छ ।
हाल बजारमा प्रतिगोटा गुलाबको मूल्य ८० देखि १ सय रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्षको तुलनामा गुलावको मूल्य पनि बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । त्यस्तो त गत वर्ष प्रतिगोटा गुलाबको मूल्य ५० देखि ८० सम्म रहेको थियो । व्यवसायीका अनुसार हाल नेपालको कुल मागको करिव २५ प्रतिशत मात्रै नेपाली उत्पादनले धान्ने गरेको छ ।
नेपालमा पश्चिमा संस्कृति हावि हुदै
नेपालमा मात्र नभएर विश्वमा नै फेब्रुअरी ७ बाट १४ सम्मलाई प्रेम सप्ताहको रुपमा मनाउने गरिन्छ । ‘भ्यालेन्टाइन डे’ नेपालीको मौलिक चाड नभएपनि नेपालमा यो दिनलाई निक्कै धुमधामले मनाइन्छ ।
प्रणय दिवश विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखेर पठाउने चलन थियो । तर समयसँगै प्रविधिमा आएको परिवर्तनले वर्तमान समयमा यो प्रचलन फेरिएको छ । आफ्नो प्रेमको भावना, सम्बन्ध खुलेर व्यक्त गर्न सक्ने वातावरण छ । सामाजिक सञ्जालबाट होस् या अन्य कुनै माध्मबाट आफ्ना प्रेमका भावनालाई सहजै व्यक्त गर्न सक्ने वातावरण छ । नेपालमा पनि भेलेन्टाइन डे कै अवसर पारेर विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । यस्ता कार्यक्रमबाट पनि व्यक्त हुन नसकेका भावनाहरु प्रकट हुन्छन् । कतिपय कार्यक्रमहरु उश्रृंखल पाराको समेत हुन्छ, यसले विकृति भित्राउदै छ ।
नेपालमा विशेष गरि युवा युवतीमा यसको बढी लगाव छ । पहिले खुलेर व्यक्त गर्न नसक्ने युवायुवती अहिले आफ्नो प्रमको भावना सम्बन्ध बर्तमान समयमा खुलेर व्यक्त गर्न सक्छन् र गर्छन् पनि । युगल जोडी भ्यालेन्टाइन डे को नाममा घुम्नजाने र नेपाली संस्कृतिमा अनैतिक मानिने क्रियाकलापसमेत गर्ने भएकाले नेपाली संस्कृति माथि पश्चिमा संस्कृति हावि हुदै गएको छ ।
भ्यालेन्टाइन संस्कृति कि विकृति ?
प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि विकृती हो । भ्यालेन्टाइन डे मनाउनु विकृती होईन तर मनाउने तरिका गलत हुनु चाँहि विकृती हो ।