Logo

प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति



काठमाडौँ, १२ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

समितिलाई आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस बारेमा सरकारले गर्नुपर्ने कामबारे सुझाव दिने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मंगलवार बानेश्वरमा आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा बुधबार ज्यान गएको थियो ।

आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्को हिजोको बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्