काठमाडौँ, ६ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध पत्रकार आचार संहिता उलंघन गरेको आरोपमा प्रेस काउन्सिलमै उजुरी परेको छ ।
पत्रकार सुरेस आचार्यले बस्नेतले सामाजिक सञ्जालमा आफ्नो मानहानी हुने गरि सामग्री प्रकाशन गरेको भनी काउन्सिलमा उजुरी दिएका छन् । आचार्यले अध्यक्ष बस्नेतले फेसबुकमा आफ्नो पत्रकारिता पेसा, निष्ठा र योगदानमा आँच पुर्याउने उद्देश्यले सूचना सम्प्रेषण गरेकाले कारबाहीको माग गरि उजुरी दिएका हुन् । उनले दिएको उजुरी निवेदन पुस २८ गते दर्ता भएको छ ।
पत्रकार आचार्यले नेपाल टेलिभिजनमा ‘बहसमा क्लाइमेट चेन्ज’ नामको सम्वाद कार्यक्रम संचालन गर्दै आएको छन् । आचार्यले बातावरण व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग गरेको १८ औं एपिसोडको सम्वाद कार्यक्रममा अध्यक्ष बस्नेतले व्यङ्ग गरेको भन्दै उनी विरुद्ध उजुरी दिएका हुन् । आचार्य र घिमिरेबीचको सम्वादको स्क्रीन सट गरि पुस १० गते अध्यक्ष बस्नेतले ‘बहसमा के त ? नाम नाम मिलेको छ, न विषयको ज्ञान । राम, राम, एनटिभी’ भन्ने सामग्री फेसबुक पेजमा पोस्ट गरेका थिए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका अचार्यको उजुरीमा पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६)को दफा ४ को उपदफा (६) को बुँदा नं. १, २ र ३ उलंघन गरेको उल्लेख छ । आचार संहितामा सत्य–तथ्य र सन्तुलित सूचना सम्प्रेषण शीर्षकको बुँदा ः (१) पत्रकार तथा सञ्चारमाध्यमले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ । यसरी सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनु पर्दछ । घ (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमाफर्त प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनु पर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रकाशन गरको जानकारी वा विचार÷कमेन्टहरूलाई शेयर वा रिट्विट गरी पुन प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमलेआफूले प्रकाशन गरेसरह तथ्यजाँच गरी निष्पक्षतालाई समेत ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ, उजुरीमा उल्लेख छ ।
बरिष्ठ पत्रकार आचार्यले अध्यक्ष बस्नेतविरुद्ध दिएको उजुरी काउन्सिलमा दर्ता भएको छ । सो विषयमा काउन्सिलको बोर्ड बैठकमा छलफल हुने एक सदस्यले सजिलो खबरलाई बताए । उनले अध्यक्षले आफ्नो पदिय हैसियत राख्न नसकेको टिप्पणी गरे ।