काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताएका हुन् ।
भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना गरेका थिए ।







