काठमाडौँ, १६ वैशाख । फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ ।
सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी दिँदै सांसद कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले आउँदो अधिवेशनमा कानुनअनुसार निर्णय हुने जानकारी दिएका हुन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा सदनले स्वीकृत गरेको जानकारी दिए ।
यसअघि फरार रहेका कोइरीलाईसमेत बिरामी बिदाको सूचीमा राखेको भन्दै कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायत दलका सांसदले विरोध गरेका थिए । प्रतिनिधि सभाको पहिलो अधिवेशन गएरातिदेखि अन्त्य भइसकेको छ ।