झापा, २० पुस । राधिका फाउन्डेसन मार्फत झापामा अध्ययनरत विद्यार्थीहरूलाई काठमाडौँका देव लामाले पाठ्य सामग्री, न्यानो कपडा र खाद्यान्न सहयोग गर्नुभएको छ ।
हाल अस्ट्रेलियामा रहदै आउनुभएका लामाले फाउन्डेसनका विद्यार्थीलाई ४० हजार मूल्य बराबरका स्टेशनरी, न्यानो कपडा र खाद्य सामग्री प्रदान गर्नुभएको हो।
बिर्तामोड निवासी टिका पौडेल मार्फत उक्त सामग्री फाउन्डेसनका संस्थापक राधिका दासीलाई प्रदान गरिएको थियो।
फाउन्डेसनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई झापा र काठमाडौँका विद्यालयमा अध्ययन गराउँदै आएको छ।
आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीलाई इच्छुक दाताहरूकै सहयोगमा विद्यालय भर्ना गरिएको फाउन्डेसनले जनाएको छ।
ूपहिले संस्कार अनि संस्कारसहितको परोपकार नारालाई आत्मसात गरेको फाउन्डेसनले बृहत गुरुयोजना अघि सारेर काम अघि बढाइरहेको छ ।
फाउन्डेसनको सचिवालय र विद्यार्थीको आवासका लागि व्यवस्थित भवन निर्माणाधीन छ ।
निकट भविष्यमा एकै परिसरभित्र विद्यालय, अस्पताल र पार्क निर्माण गर्ने योजना अघि सारिएको संस्थापक दासीले बताउनुभयो।
फाउन्डेसनमा कर्णालीसहित विकट पहाडी जिल्लाका ४०भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। उनीहरू काठमाडौँ र झापामा बस्दै आएका छन्। उनीहरूकै लागि ूएकदाता, एक छाक भोजनू अभियान सञ्चालन गरिएको जनाउँदै फाउन्डेसनले त्यस कार्यमा सरिक हुन इच्छुक दाताहरुलाई अपिल समेत गरेको छ।
फाउन्डेसनमा रहेका विद्यार्थीहरू अधिकांश अभिभावक विहीन हुन्। राधिका फाउन्डेसनले कम्तीमा १०० विपन्न र अभिभावक विहीन बालबालिकालाई आवासीय सुविधासहितको विद्यालय शिक्षा प्रदान गर्ने तयारी गरेको पनि संस्थापक दासीले जानकारी दिनुभएको छ ।