काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले पार्टीको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेशले राखेका मागहरू पूरा गर्न सङ्घीय सरकारलाई आग्रह गरेका हुन् । उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन नआए त्यो बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए ।
उनले भने, ‘संरचना बन्यो तर अधिकार नदिएको प्रदेशको गुनासो छ । प्रदेशले मागेको के हो? युरेनियम निकालेर ल्याइदिऊ भनेर प्रदेशले मागेको हो? हिरा मोतीको खानी मागेको हो? होइन । अन्तरिक्षयान बनाएर हाम्रो हातमा देउ भनेको हो? होइन । प्रदेशले कानुन मागेको हो । अधिकार मागेको हो । त्यो दिन सकिन्छ कि सकिँदैन? त्यो दिन नसकिने कारण के छ? त्यसैले म मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु, उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो । प्रदेशलाई अधिकार चाँडो दिनेगरी निजामतीसम्बन्धी, लोकसेवासम्बन्धी, आर्थिकसम्बन्धी, प्रहरीसम्बन्धी कानुन दिनुपर्छ । कांग्रेस महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने त्यही बैठकबाट निर्णय गरेर हामी आफैँ सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ ।’







